एसईईमा सिन्धुपाल्चोक प्रथम छात्रा र छात्र ५१ हजार रुपैयाँसहित सम्मानित

भक्तपुर न्यूज

२६ भदौ २०७९ ९:४५

एसईईमा सिन्धुपाल्चोक प्रथम छात्रा र छात्र ५१ हजार रुपैयाँसहित सम्मानित

सिन्धुपाल्चाेक । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुपाल्चोक जिल्ला प्रथम छात्र र छात्रा जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन् । सिन्धु यूएसए वेलफेयर सोसाइटी अमेरिकाले एसईईमा उत्कृष्ट अङ्क ल्याउने बालशिक्षा माध्यमिक विद्यालयकी छात्रा दिक्षिका पराजुली र सदाबहार एकेडेमीका छात्र रामकृष्ण विकलाई नगदसहित सम्मान गरेको हो ।

उनीहरूलाई एक कार्यक्रमका बीच उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतले सम्मान गर्नुभएकाे सोसाइटीका संस्थापक अध्यक्ष बंशलाल तामाङले जानकारी दिए । कार्यक्रममा अध्यक्ष बस्नेतले लगनशीलताले विद्यार्थीलाई सही नतिजा ल्याउन सहयोग गर्ने भन्दै सम्मान गर्ने संस्थाप्रति विपन्न परिवारको आस्था बढेको बताए ।

यस्तै कार्यक्रममा सोसाइटीको छात्रवृत्तिमा अध्ययन गरेर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई प्रशंसापत्र पनि प्रदान गरिएको छ । कक्षा १२ उत्तीर्ण भएकी बिन्दा विकले सोसाइटीको सहयोगमा स्तरीय शिक्षा प्राप्त गर्न पाएकाले आफू सक्षम बनेको बताए । संस्थाको सहयोगमा अहिले दुईले जना उच्च शिक्षा अध्ययन गरिरहेका छन् भने ११ जना माध्यमिक तहमा अध्ययनरत छन् ।

कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष तामाङले जन्मभूमिका लागि केही गर्ने उद्देश्यले अमेरिकामा बसोवास गर्ने नेपालीको सहयोगमा उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको बताए । सिन्धु यूएसए वेलफेयर सोसाइटी सिन्धुपाल्चोक जिल्लाबाट अमेरिका पुगेर पेसा, व्यवसाय गरिरहेका व्यक्तिहरूले सन् २०१० मा स्थापना गरेको संस्था हो ।

प्रकाशित मितिः २०७९ भदौ २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय