टी-२० विश्वकपका लागि पाकिस्तानले भित्र्यायो प्रशिक्षक हेडेनलाई
काठमाडौं । पाकिस्तानले आसन्न टी-२० विश्वकपका लागि अस्ट्रेलियन प्रशिक्षक म्याथ्यु हेडेनलाई भित्र्याएको छ । हेडेनले विश्वकपको गत संस्करणमा पनि पाकिस्तानी टोलीसँग काम गरेका थिए । त्यतिबेला पाकिस्तान विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।
हेडेन अस्ट्रेलियाका पूर्व विस्फोटक ब्याट्सम्यान हुन् । उनले विश्वकप पनि जितेका थिए । पाकिस्तान जारी एसिया कप क्रिकेटको फाइनलमा पुगिसकेको छ । उसले उपाधिका लागि आइतबार श्रीलंकासँग खेल्दै छ । टी-२० विश्वकप आगामी महिना अस्ट्रेलियामा सुरु हुँदैछ ।
पाकिस्तानी क्रिकेट बोर्ड-पीसीबी अध्यक्ष रमिज राजाले हेडेनलाई भित्र्याउन पाउँदा टिमलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् । पाकिस्तानले विश्वकपअघि न्युजिल्यान्डमा त्रिकोणात्मक शृंखला खेल्दै छ । पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा सुरु गर्ने छ । पाकिस्तानले सन् २००८ पछि टी-२० विश्वकप उपाधि जित्न सकेको छैन ।
प्रकाशित मितिः २०७९ भदौ २४ शुक्रबार
