कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा घोषणा

भक्तपुर न्यूज

२२ भदौ २०७९ १२:४३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा घोषणा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । उनीहरुले शान्ति सुरक्षा नभएको भन्दै सामूहिक राजीनामाको घाषणा गरेका हुन् ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्थानीय प्रशासनलाई समेत बोधार्थ पत्र पठाएका छन् ।

गत भदौ २ गते आकस्मिक विभागमा कार्यरत डा. करण साहमाथि प्रतिष्ठान प्रशासनकै चौथो तहका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । आफ्नो छोराको टाँका नकाटेको भन्दै हात र लात दुवैले डा.साहलाई हिर्काएको दृश्य सीसीटिभी फुटेजमा हेर्न सकिन्छ । डक्टर कुट्ने शाहीविरुद्ध मुद्दा चलिरहेको छ । उनलाई प्रतिष्ठानले ४५ दिन निलम्बन गरेको छ ।

अस्पताल निर्देशक डा. पुजन रोकायाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएर छानबिनसमेत चलिरहेको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुले पिडक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बेला केही व्यक्तिहरुले नाबालकलाई प्रयोग गरेर मुठभेटको अवस्था सिर्जना गर्न थालेको भन्दै भयावह वातावरणमा सेवा दिन नसक्ने जनाएका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपकुलपति डा. रावललाई बुझाएको सामूहिक राजीनामा पत्रमा भनिएको छ,‘इमरजेन्सी विभागमा कार्यरत मेडिकल अधिकृत डा. साहमाथि भएको सांघातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति निकै भयावह छ । जसकारण हामी सामूहिक राजीनामा दिन बाध्य छौं । ’ यसै घटनालाई निहुँ बनाएर अतिरञ्जित एवं हास्यास्पद तरिकाले डा. करणमाथि नै झुट्टो मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गर्नु, शान्तिपूर्णरुपमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि स्थानीय केही अराजक व्यक्तिहरुले नाबालकलाई प्रयोग गरी मुठभेटको अवस्था सिर्जना गर्ने प्रयास भइरहेको प्रति दु:ख व्यक्त गरिएको छ ।

‘शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा हामी सेवा दिन असमर्थ छौं,’ पत्रमा भनिएको छ,‘कानुनी राज्यको आभाष नभएकोले विरोधको नयाँ स्वरुपअनुसार हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरु आजकै मितिबाट सामूहिक राजीनामा पेस गरेका छौं । ’ उनीहरुले डा साहमाथि जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन् । जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको छ ।

डा. साह कुट्ने कर्मचारीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ अनुसार कारबाही गर्न माग गरिएको छ । ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारको दुर्व्यवहार गरेमा वा हातपात गरेको खण्डमा तीन वर्षसम्म कैद सजाया वा तीन लाख रुपैयाा जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

डा. साहलाई लात र हातले कुटेको फुटेजमा स्पष्टसँग देखिँदादेखिँदै पनि कुटाइ खाने डक्टरलाई नै पक्राउ पुर्जी जारी गर्नु बिडम्बना भएको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले बताए ।

प्रकाशित मितिः २०७९ भदौ २२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय