निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरु

भक्तपुर न्यूज

१९ भदौ २०७९ ८:१०

निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरु भएको छ । समितिले उनीसँग बुधबारदेखि बयान लिन सुरु गरेको थियो । बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ ।

पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ । आज सातौँ प्रश्नबाट बयान सुरू हुनेछ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुन बमोजिम काम गर्दै आएको बयान दिएका छन् ।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका जबराको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ ।

जबरा विरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका छन् । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियो ।

जबराविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो ।उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ । समितिले निलम्बित प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र जबराले प्रश्नको जवाफ दिने क्रम आज पनि रहनेछ ।

प्रकाशित मितिः २०७९ भदौ १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय