आविष्कार केन्द्रले बनाउने भयो दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन

भक्तपुर न्यूज

१७ भदौ २०७९ ८:०६

आविष्कार केन्द्रले बनाउने भयो दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्नेगरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो ।

मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्नेगरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्र बीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।

समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ । सम्झौता पछि आफूहरु उत्साहित भएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । यो रकमबाट सिन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने पुनले बताए । ‘हामी आर्थिक वर्ष सकिने अघि नै काम भ्याउने गरि काम गर्नेछौं, पुनले भने ‘वैशाखसम्म यस्तो मेसिन बनाउने छौं ।’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यो समझदारीले आफ्नै उत्पादन प्रयोग गर्ने राष्ट्रिय नीतिलाई सघाउने बताए । भविष्यमा यस्तो सहयोग र सहकार्य आविष्कार केन्द्रसँग हुने मन्त्री बडूले बताए ।

प्रकाशित मितिः २०७९ भदौ १७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय