थपिएका स्थानीय तहमा जेठ ३१ गते चुनाव असम्भवः निर्वाचन आयुक्त

भक्तपुर न्यूज

९ जेठ २०७४ ८:१२

थपिएका स्थानीय तहमा जेठ ३१ गते चुनाव असम्भवः निर्वाचन आयुक्त

काठमाडौं ९ जेठ । निर्वाचन आयोगका एक आयुक्तले नयाँ थपिएका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने जनाएका छन् । आयोगका आयुक्त नरेन्द्र दाहालले प्राविधिक कारणले अब जेठ ३१ गते ती नयाँ स्थानीय तहमा निर्वाचन गर्न नसकिने बताएका हुन् ।
आयुक्त दाहालले भने, नयाँ स्थानीय तहको संख्या थपिएको भन्ने सुनेका छौँ, ती स्थानीय तहमा पनि चुनाव गर्ने हो भने जेठ ३१ गते सम्भव छैन ।’ प्राविधिक कारणले नै चुनाव गर्न नसकिने दाहालको भनाइ छ । उनले भने, अब २१ दिनमात्रै बाँकी छ । नयाँ थपिएका स्थानीय तहमा कार्यालय स्थापना गर्ने, कर्मचारी खटाउने, मतदाता नामावली छाप्ने र मतदाता परिचयपत्र छपाएर जेठ ३१ मै चुनाव गर्न अब सम्भव छैन ।

सरकारले दोस्रो चरणको निर्वाचनको मिति सारेर समय थप गरेमा भने सबै ठाउँमा एकैचोटि चुनाव गर्न सकिने आयुक्त दाहालले बताए । दाहालले भने, यो मेरो निजी बुझाइ हो, निर्वाचन आयोगले यसबारे आधिकारिक निर्णय भने गरिसकेको छैन ।’ आयुक्त दाहालको व्यक्तिगत धारणाजस्तै निर्वाचन आयोगले समेत निर्णय गर्‍यो भने जेठ ३१ गतेको निर्वाचनमा सबै जिल्ला नसमेटिन सक्छन् । त्यो अवस्थामा या त जेठ ३१ को चुनावलाई असारको दोस्रो सातातिर सार्नुपर्ने हुन्छ । चुनाव नसार्ने हो भने तीन चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ ।

थपिएका स्थानमा जेठ ३१ गते चुनाव गर्न सकिँदैन भने के गर्ने गर्ने ? अब चुनाव सार्ने कि तीन चरणमा गर्ने ? यो प्रश्नमा आयुक्त दाहालले कुनै विकल्प दिएनन् । उनले यतिमात्रै भने थपिएका स्थानीय तहमा प्राविधिक रुपमा पनि जेठ ३१ गते चुनाव गर्न सकिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय