आफूमाथि लगाइएको लाञ्छनाको छानबिन गर्न महिला आयोगकी अध्यक्षको माग
काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आफ्नो छबिमाथि लाञ्छना लगाउने काम भएको उल्लेख गर्दै गम्भीर आपत्ति जनाएकी छन् ।
केही समयदेखि सञ्चारमाध्यमहरुमा प्रकाशित आफूसँग सम्बन्धित समाचारहरु पूर्वाग्रहपूर्ण मनशायले बाहिर ल्याइएको उनको भनाइ छ । अध्यक्षले, ‘भ्रमपूर्ण, तथ्यहीन र निराधार समाचार प्रकाशन गरी अन्तर्राष्ट्रिय रुपमा आफ्नो छबि धमिल्याउने र आत्मसम्मानमा चोट पुर्याउने काम भएको,’ उल्लेख गरेकी छन् ।
आफूबाट कहिल्यै गलत कार्य नभएको उनको दाबी छ । आफूविरुद्ध लगाइएको गम्भीर लाञ्छनामाथि सम्बन्धित निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने र दोषी प्रमाणित भएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको पराजुलीको भनाइ छ ।
‘फौज्दारी शैलीमा हमला गर्ने, सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक, अतिरञ्जित र नकारात्मक समाचार प्रकाशन तथा प्रशारण गर्ने–गराउने सञ्चारकर्मी तथा सञ्चारमाध्यमका बारेमा प्रेस काउन्सिल नेपालका अध्यक्षलाई ध्यानाकर्षण गराइन्छ,’ आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मितिः २०७९ साउन १९ बिहिबार
