साढे ३ अर्ब बराबरको आईपीओ जारी गर्ने अनुमतिका लागि सेबोन पुग्यो घोराही सिमेन्ट
काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा साढे ३ अर्ब बराबरको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्ड सेबोनमा आवेदन गरेको छ ।
विशाल र संघई समूहको लगानी रहेको घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासीन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता तथा सर्वसाधरणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि १०० रुपैयाँको अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० सय रुपैयाँमा आईपीओ जारी गर्नेछ ।
यस्तै, सर्वसाधारणका लागि भने अंकित मूल्यमा ३४५ रुपैयाँ प्रिमियम थप गरेर ४ सय ३५ रुपैयाँमा सेयर जारी गर्नेछ । आइपीओ निष्काशनका लागि कम्पनीले हिमालयन क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
प्रकाशित मितिः २०७९ साउन १५ आइतबार
