भक्तपुर नगरपालिकामा नेमकिपाको एकलौटी जीत
भक्तपुर ५ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले नगरप्रमुखदेखि सबै वडामा विजयी हासिल गरेको छ । २० बर्षपछि बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेमकिपाले एकलौटी जीत हासिल गरेको हो । भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् । उनीहरुले क्रमश २५६३० र २५७११ मत प्राप्त गरेका छन् । यसैगरी भक्तपुर नगरको वडा नं १ मा नेमकिपाका श्याकृष्ण खत्री, २ नंम्बरमा हरिप्रसाद बासुकला, ३ नंम्बरमा राजकृष्ण गोरा, ४ नंम्बरमा कुमार चवाल, ५ नंम्बरमा प्रेमगोपाल कर्माचार्य, ६ नंम्बरमा हरिराम सुवाल, ७ नंम्बरमा उकेश कवां, ८ नंम्बरमा महेन्द्र खायमलि, ९ नंम्बरमा रविन्द्र ज्याख्व र १० नंम्बर वडामा लक्ष्मीप्रसाद ह्यौमिखा वडाअध्यक्षसहितको पदाधिकारीमा प्यानलै विजयी भएको छ ।
भक्तपुर नगरपालिकामा रहेको साढे ५२ हजार ९३० मतदाता संख्यामा रहेको थियो, जसमा ४४ हजार १८६ मत खसेको थियो । भक्तपुर नगरपालिकाको निर्वाचन र मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा जिल्लामै सबैभन्दा पहिला सकिएको कार्यालयले बताएको छ ।
यस जिल्लामा रहेको चारवटा नगरपालिकामध्ये शुक्रबार साँझसम्म सुर्यविनायक, मध्यपुरथिमी र चाँगुनारायण नगरपालिकाको मत गणना चलिरहेको छ ।
अहिलेसम्मको मत परिणामलाई हेर्दा मध्यपुरको मेयरमा एमाले र सुर्यविनायकमा एमाले अग्रस्थानमा रहेका छन् । सुर्यविनायकमा उपमेयरमा भने एमालेले लिड गरिरहेको छ । यसैगरी चाँगुनारायणमा मेयरमा नेपाली काँग्रेस अगाडी देखिएको छ भने यहाँ एमाले र राप्रपाले काँग्रेसलाई पछ्याईरहेका छन् ।