अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै
काठमाडौं । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही सातापछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका छन्। दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार र शुक्रबार नेपालमा रहने छन् ।
उच्च कुटनीतिक स्रोतका अनुसार उनी दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।
उनी त्यस बेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुनुअघि नेपाल आएका थिए ।उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क–कसलाई भेटवार्ता गर्ने भन्ने बारे जानकारी बाहिर ल्याइएको छैन ।
लुले यसअघि एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन काठमाडौंमा आएर राजनीतिक र कुटनीतिक दौडधुप गरेका थिए । साथै उनले नेपालका शीर्ष नेताहरूलाई फोन गरेर एमसीसी अनुमोदनको प्रक्रियालाई अगाडि बढाउन पनि आग्रह गरेका थिए । जसलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै सार्वजनिक कार्यक्रममै आपत्ति जनाएका थिए ।
प्रकाशित मितिः २०७९ साउन ११ बुधबार
