झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज अनिवार्य राख्नुपर्ने

भक्तपुर न्यूज

२ साउन २०७९ ८:५४

झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज अनिवार्य राख्नुपर्ने

काठमाडौं । चलन चल्तिका लागि अयोग्य झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी कभरेज अनिवार्य राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको व्यवस्था अनिवार्य गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

यस्तै धुल्याइने नोटको थान गन्ती गरी लगत खडा गरी राख्नु पर्ने नियमावलीमा उल्लेख छ । रोडिङ तथा बिक्रेटिङ गर्ने प्रयोजनका लागि छुट्ट्याइएका पाँच सय र एक हजार दरका नोट शतप्रतिशत पुनः गन्ती गरी मात्रै धुल्याउनु पर्ने राष्ट्र बैंक्ले जनाएको छ । नोट धुल्याउनका लागि एउटा समिति गठन गर्नुपर्ने र नोट धुल्याउने क्रममा समितिका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नु पर्ने छ ।

नोट धुल्याउनु अघि समितिको रोहबरमा पाँच सय र एक हजार दरका नोट बाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शत प्रतिशत प्याकेट गन्ती गरी ती बण्डलमध्ये नमूना छनौट (यान्डम स्याम्प्लिङ) गरी कम्तीमा पाँच प्रतिशत बण्डल छट्टयाई उक्त बण्डलमा रहेको प्याकेट तथा थान समेत गन्ती गरी रुजु गरेपश्चात् मात्र धुल्याउनु सकिने व्यवस्था नियमावलीले गरेको छ ।

नोट धुल्याउन नियमावली जारी भएसँगै नेपाल राष्ट्र बैंकलाई झुत्रा नोटबाट ब्रिगेट बनाउने बाटो खुलेको छ । यसअघि राष्ट्र बैंकले यस्तो नोटहरु जलाउने गरेको थियो । तर, अब चलन चल्तिका लागि अयोग्य नोटहरुबाट ब्रिगेट बनाएर बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले नेदरल्यान्डबाट ल्याएको प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर नस्किने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने बिक्रेट बनाउने भएको हो ।

बिक्रेट बनाउन ‘बीएसबीएस’ (बैंक नोट स्रेडिङ एन्ड बिक्रेटिङ सिस्टम) मेसिन प्रयोगमा ल्याइएको हो। फागुन २०७८ मै विराटनगरमा उक्त मेसिनको शुभारम्भ भएपछि नियमावली नहुँदा काम सुरु भएको थिएन । अब नियमावली तयार भएर कार्यान्वयनमा गएसँगै झुत्रा नोटबाट ब्रिगेट बनाउने बाटो खेलेको हो ।

२०२० मा राष्ट्र बैंकले नेदरल्याण्डको एक कम्पनीसँग आठ मेसिन ल्याउने सम्झौता गरेको थियो । जसमध्ये फागुनमा ४ वटा मेसिन ल्याएर पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरिसकेको छ ।

नियमावलीले कस्ता नोटबाट बिग्रेट बनाउन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको लागि प्राप्त भएका झुत्रा वा चलनचल्तीमा ल्याउन अयोग्य नोट, चलनचल्तीमा लैजान अयोग्य ठहयाएका नोट, जाली वा नक्कली भनी जफत गरेका नोटबाट बिग्रेट निमार्ण गर्ने सक्ने भएको छ ।

तर, अदालती कारबाही चलेको हकमा अन्तिम किनारा लागेको दुई वर्षपछि र कारबाही नचलेको हकमा बैंकले प्राप्त गरेको तीन वर्षपछि धल्याउनु पर्ने नियमावलीमा उल्लेख छ ।

प्रकाशित मितिः २०७९ साउन ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय