गभर्नर अधिकारीलाई २४ घन्टाभित्र राजीनामा दिन चेतावनी
काठमाडौं । सत्तारुढ गठबन्धन निकट विद्यार्थी सङ्गठनहरूले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई २४ घन्टाभित्र राजीनामा दिन चेतावनी दिएका छन् ।
आइतबार नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा विरोध प्रदर्शन गर्दै उक्त चेतावनी दिएका हुन् ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछि उनी विरुद्ध आन्दोलन चर्किएको हो । विरोध प्रदर्शनमा बोल्दै नेविसङ्घका सभापति दुजाङ शेर्पाले राजनीतिक पदमा रहेको व्यक्ति गभर्नर हुन नपाउने भन्दै तत्काल राजीनामा दिनुपर्ने बताए। उनले २४ घण्टाभित्र राजीनामा नदिए थप आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । आजको कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।
विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको आरोप लगाइन् ।
प्रकाशित मितिः २०७९ साउन ०१ आइतबार
