भक्तपुरका मतगणनास्थल सूचनामैत्री भएनन्

भक्तपुर न्यूज

४ जेठ २०७४ १२:३४

भक्तपुरका मतगणनास्थल सूचनामैत्री भएनन्

। कमल न्यौपाने ।
भक्तपुर ४ जेठ । स्थानीय तहको निर्वाचन सकिएपछि सुरु भएको मतगणना प्रक्रिया निरन्तर रहेको अबस्थामा भक्तपुरका चारवटै निर्वाचन अधिकृतका कार्यालय र मतगणनास्थल सूचनामैत्री देखिएका छैनन् ।
निर्वाचन अधिकृत र गणकहरुकोे उदासिनताका कारण सञ्चारकर्मीहरुले समयमै ताजा मतपरिणाम पाउन नसकेको भक्तपुरका सञ्चारकर्मीले गुनासो गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा त समाचार संकलनमा गएका पत्रकारलाई भित्र पस्न समेत नदिईएको उनीहरुले बताएका छन् । कतिपय मतगणनास्थलमा निर्वाचन कार्यालयले स्वीकृत दिएको परिचयपत्र देखाउँदा समेत गेटमा बसेका सुरक्षाकर्मीले पत्रकारलाई दुव्र्यवहार गर्दै सूचना संकलनबाट बञ्चित गराएका छन् ।
परिचयपत्र देखाउँदा समेत माथिको आदेश अनुसार भन्दै भित्र पस्न नदिइएको र गेटमा रहेका सुरक्षाकर्मीबाट दुव्र्यवहार गरेको एक सञ्चारकर्मीले नाम नछाप्ने सर्तमा भने ‘माथिको आदेश भनेको के रहेछ ?’
यता भक्तपुर नगरपालिकामा भने सूचना प्रवाह प्रभावकारी नरहेको अर्का सञ्चारकर्मीले बताए । उनले भने भक्तपुरमा बिशेष स्रोतले जानकारी गराएकै आधारमा ताजा मत परिणामको जानकारी लिइरहेको छौं । भक्तपुर नेपाल मजदुर किसान पार्टीको गढ भएकै कारण पनि नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताले सम्प्रेषण गरेका ताजा समाचारलाई आधार मानेरै अन्य सञ्चार माध्यमले समाचार सम्प्रेषण गरिरहेको उनले बताए ।
केही दिनअघि सञ्चारमाध्यममा भएको गलत रिर्पोटिङ्कै कारण विवाद बढेको भन्दै सूर्यविनायक नगरपालिकाको मतगणना स्थलमा पत्रकारलाई भित्र पस्दा कडाई गरिएको छ । तर समाचार नै संकलन गर्न नपाएपछि कसरी सूचना प्रभाव गर्ने यो भने गम्भीर बिषय बनेको छ । सूर्यविनायकमा मात्रै नभई चाँगुनारायण र मध्यपुरमा पनि यस्तै समस्या रहेको छ ।
यता जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले सञ्चारकर्मीलाई रिपोटिङ्का लागि उचित र सहज व्यवस्था मिलाईएको बताउँदै यदाकता त्यस्तो दुव्र्यवहारका साथै समाचार संकलनबाट बञ्चित गराईएको भए त्यो कार्य सकारात्मक नभएको बताए । उनले सबै नगरपालिकामा पत्रकारलाई समाचार संकलनका लागि सहज वातावरण बनाउँनु पनि बताएका छन् ।
यस्तै सूर्यविनायक नगरपालिका निर्वाचन केन्द्रका निर्वाचन अधिकृत दुर्गा गुरुङले सुचना बिभागले जारी गरेका पास र निर्वाचन आयोगले स्विकृति दिएको पास लिएर समचार संकलनमा जाँदा समेत समाचार संकलनमा अवरोध नगरि पास भएका पत्रकारहरुलाई समाचार संकलनका लागि भित्र पस्न दिएको भन्दै समाचार संकलनबाट बञ्चित नगराएको बताएकी छन् । उनले समाचार संकलनमा पत्रकारहरुले पनि तोकिएको आचारसंहिता पालना गरिदिन आग्रह पनि गरेकी छन् ।
केही ठूला मिडियाका पत्रकारहरु जो सँग सूचना बिभागको पास र निर्वाचन आयोगले स्विकृति दिएका पास नहुँदा समेत प्रत्यक्ष प्रसारणमा कुरा गर्न मतगणना स्थलसम्मका सबै दृश्य प्रसारण गर्न स्विकृति दिने तर कतिपय सञ्चारकर्मीहरुसँग सूचना विभागको पास हुँदा पनि मतगणना स्थलसम्म नै जान नपाएको एक सञ्चार कर्मीले बताए ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले समाचार संकलनमा असहजता भएको भन्दै एकदुई जना पत्रकारले आफुँसँग गुनासो गरेपनि यस बिषयमा अनविज्ञता व्यक्त गरे । उनले जिल्ला निर्वाचन प्रमुख राईसँग आफूले पत्रकारलाई समाचार संकलन गर्न सहजता मिलाउनका लागि आग्रह समेत गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय