विद्यालय शिक्षाकेन्द्रित ‘पढाइका कुरा’ सार्वजनिक

भक्तपुर न्यूज

१९ असार २०७९ ११:३५

विद्यालय शिक्षाकेन्द्रित ‘पढाइका कुरा’ सार्वजनिक

काठमाडौं । विद्यालय शिक्षा सुधारका विविध विषयमा केन्द्रित पुस्तक ‘पढाइका कुरा’ सार्वजनिक भएको छ । वी रिडले प्रकाशन गरेको पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमूना विद्यालय बनाउने तरिका, शिक्षण सिकाइको प्रभाव, गुणस्तरीय शिक्षाका तरिका, सामुदायिक विद्यालयको अवस्थालगायत विषय समेटिएका छन् ।

गुणस्तरीय शिक्षाको चुनौती, सिकाइका महत्वपूर्ण विधि, शिक्षामा परिवारको भूमिका, विद्यार्थी कसरी पढाउने ? जस्ता विषयमा पनि पुस्तकले चर्चा गरेको छ ।

सबैले शिक्षा पाउने वातावरण सुनिश्चित हुनुपर्छ भन्ने अभिप्रायले जनचेतना र खबरदारीका लागि पुस्तक तयार पारिएको प्रकाशन संस्थाले जनाएको छ । शिक्षक–अभिभावकको भूमिका, विद्यार्थीको तत्परता कति आवश्यक छ, गुणस्तरीय शिक्षा कसरी हासिल गर्न सकिन्छ भन्नेलगायत सन्दर्भलाई पुस्तकमा विशेष जोड दिइएको छ । ‘यहाँ समावेश विषयवस्तुले बहस सिर्जना गर्न सक्यो भने त्यो नै पुस्तकको ठूलो सफलता हुनेछ,’ लेखक मनवीर नेपालीले भने ।

सरकारले शिक्षामा राम्रा नीति ल्याए पनि, शिक्षक तालिममा लगानी गरे पनि त्यो ‘बालुवामा पानी’जस्तै भएको उनको ठम्याइ छ । ‘सामुदायिक विद्यालयमात्रै होइन विश्वविद्यालयमा पनि शिक्षाको स्तर सुध्रन सकेन,’ लेखक नेपाली भन्छन्, ‘पढाइ पूरा गरेपछि सहजै जीविकोपार्जन गर्न सक्ने हुनुपर्छ, समाजलाई केही योगदान गर्न सक्नुपर्छ, समग्रमा शिक्षा बिक्ने खालको हुनुपर्छ भन्ने कुराले घचघच्याएपछि यो पुस्तक सिर्जना भएको हो ।’

वी रिडले प्रकाशन गरेको १७६ पृष्ठको यस पुस्तकको मूल्य रू. ३७५ तोकिएको छ । यो पुस्तक बजारमा र अनलाइनमार्फत उपलब्ध छ ।

प्रकाशित मितिः २०७९ असार १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *