काठमाडौं विश्वविद्यालयमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडिज’ कार्यक्रम
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडिज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडिज कार्यक्रमलाई यस वर्षबाट स्नातकोत्तर तहमा विस्तार गरिएको हो ।
काठमाडौं विश्वविद्यालयमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरुका लागि यो सुनौलो अवसर हुने विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहाल बताए ।
आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा सञ्चालित एक पृथक कार्यक्रम भएको उनले जनाए ।
स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी बताए ।
यस दुई बर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापनलगायत २८ वटा विषयबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन् ।
तर, प्रथम वर्ष मात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई वैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ ।
प्रकाशित मितिः २०७९ असार १४ मंगलबार