जोर्डनको बन्दरगाहमा विषाक्त ग्यास चुहिँदा १० को मृत्यु, दुई सयको उपचार हुँदै

भक्तपुर न्यूज

१४ असार २०७९ ३:१०

जोर्डनको बन्दरगाहमा विषाक्त ग्यास चुहिँदा १० को मृत्यु, दुई सयको उपचार हुँदै

काठमाडौं । जोर्डनको लालसागरको वन्दरगाहमा सोमवार विषाक्त ग्यास चुहावट हुँदा १० जनाले ज्यान गुमाएका छन् । साथै यस घटनामा अन्य २५ जना घाइते भएको बिबिसीले जनाएको छ । यसै कारण स्वास्थ्यमा समस्या देखिएपछि दुई सय जनाको उपचार भइरहेको छ ।

जोर्डनको जनसुरक्षा निर्देशनालय पीएसडीले पारवहनका क्रममा रसायनिक पदार्थ भण्डार गरिएको कन्टेनर एउटा क्रेनको गल्तीका कारण अचानक खस्दा यो स्थिति उत्पन्न हुन पुगेको सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

सार्वजनिक भएको भिडियो फुटेजमा क्रेनले एउटा लोरीबाट कन्टेनर उठाउने क्रममा त्यो वन्दरगाहमा रोकेर राखेको जहाजमा खसेको देखिन्छ ।

त्यसको लगत्तै जहाज र वन्दरगाह उज्यालो पहेँलो ग्यासको मुस्लोले छोपेको र अत्तालिएका मानिसहरूको भागाभाग भएको पनि देखिन्छ । पीएसडीका अनुसार नागरिक रक्षा विभागले वन्दरगाहको सफाई तथा सुरक्षाका लागि विशेषज्ञहरूका टोलिहरू परिचालन गरेका छन् ।

कन्टेनरभित्र कस्तो प्रकारको विषाक्त रसायनिक पदार्थ रहेको थियो भन्ने थाहा हुन नसकेको बिबिसीको रिपोर्टमा उल्लेख छ ।
सो विषाक्त ग्यासको संसर्गमा आएका झण्डै दुई सयजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

स्थानीय प्रशासनले अकावाका वासिन्दालाई स्वास्थ्यकर्मीहरूलाई सहज ढंगले काम गर्न दिन अस्पतालसामु भिडभाड नगर्न आह्वान गरेको बिबिसीले जनाएको छ । एजेन्सी

प्रकाशित मितिः २०७९ असार १४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय