नेताहरु घमण्डी हुँदा देश बनेनः मन्त्री चौधरी

भक्तपुर न्यूज

१३ असार २०७९ ९:५३

नेताहरु घमण्डी हुँदा देश बनेनः मन्त्री चौधरी

काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको बताएका छन्। सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे। मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए। उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए।

उनले, ‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ। मुलुक चलाउने मान्छे पनि घमण्डी भयौँ। कर्मचारीको बारेमा त के भनौँ र? तर हामीले आफ्नोतर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ। आफ्नो बचावटको लागि हामी नेताहरु नै आफू बच्नको लागि सुरक्षित नीति नियम बनाउने, आफूलाई संरक्षण गर्ने किसिमका कानून बनाउन खोज्ने।

मुलुकलाई इमान्दारीपूर्वक योगदान गरौँ। कुनैपनि व्यक्तिले स्ट्रङ कमिटमेन्ट नगर्दासम्म मुलुक बन्दैन। हामीलाई अफ्ठ्यारो त छ नि, घुस खान पाउँदा पैसा हुन्छ, अरु बद्मासी गर्दा अरु होला। यो तरिकाले त मुलुक बन्दैन रहेछ नि। देश बनाउनको लागि सबैले सामूहिक रुपमा प्रतिवद्धता जनाऔँ।’

मन्त्री चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिवद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिवद्धता जनाएर काम गर्नुपर्ने बताए।

प्रकाशित मितिः २०७९ असार १३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय