राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने

भक्तपुर न्यूज

२९ वैशाख २०७४ ६:१५

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने

भक्तपुर २९ बैशाख। राष्ट्रपति विद्या भण्डारी आज थाइल्यान्ड प्रस्थान गरेकी छन् । उनी थाइल्याण्ड हुँदै श्रीलंका जाने कार्यक्रम रहेको छ ।
स्थानीय चुनावको बेला राष्ट्रपति भण्डारी विदेश भ्रमणमा रहने भएकाले २० वर्षपछि हुन लागेको स्थानीय तहको ऐतिहासिक चुनावमा मतदान गर्ने अवसर उनले गुमाउनेछिन् ।
भण्डारी बुद्धजयन्तीको अवसरमा श्रीलंकाको क्याण्डीमा आयोजित विशेष सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम रहेकोछ ।
सवारी मन्त्रीको रुपमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी पनि राष्ट्रपति भण्डारीसँगै त्यसतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
बैंककमा रहँदा राष्ट्रपति भण्डारीले स्वर्गीय थाई राजा भूमिबल अब्दुल्यादेजको पार्थिव शरीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ । थाई राजा भूमिबलको गत वर्ष असोज २७ गते निधन भएको थियो । उनको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ ।
बैंककपछि राष्ट्रपति श्रीलंका जानेछिन् । राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रिपाला शिरिसेनासँग भेटवार्ता गर्नेछिन् । पाँचदिने भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *