प्रधानमन्त्रीद्वारा गौतमबुद्ध विमानस्थलको उद्घाटन, आजबाट जजिरा एयरलाइन्सको उडान शुरु

भक्तपुर न्यूज

२ जेठ २०७९ ६:०४

प्रधानमन्त्रीद्वारा गौतमबुद्ध विमानस्थलको उद्घाटन, आजबाट जजिरा एयरलाइन्सको उडान शुरु

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको छ। आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो।

२५ सय ६६ औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो। जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो।

जजिराले सोमवार राति साढे २ बजे नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार‚ साताको तीन दिन (सोमवार, बुधवार र शुक्रवार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ। आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उनले बताए। पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन्।

एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए।

प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय