मलेसियाका मानव संसाधनमन्त्री छिट्टै नेपाल भ्रमणमा आउने

भक्तपुर न्यूज

१६ वैशाख २०७९ १२:२८

मलेसियाका मानव संसाधनमन्त्री छिट्टै नेपाल भ्रमणमा आउने

काठमाडौं । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भ्रमणमा व्यस्त रहेका छन्। उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम. सराभननसँग भेटवार्ता गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

बैठकमा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने विषयमा छलफल भएको थियो।

यस्तै, रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शुन्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सबलीकरण गर्ने, चौबीसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा वृहत छलफल भएको दूतावासले जनाएको छ।

यस्तै, नेपाली श्रमिकहरुलाई आफ्ना अधिकार र आफूले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरुको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा छलफल भएको थियो।

बैठकमा मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रुपमा नेपाली युवाहरुलाई अवसर दिएकोमा धन्यवाद दिँदै यो क्षेत्रमा कार्यरत युवाहरुको आधारभूत तलब बढाउने, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाहरुको प्रवर्द्धन गराउन आफ्ना समकक्षी समक्ष प्रस्ताव राखेका थिए।

बैठकमा नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै नै काठमाडौंमा गर्ने र बैठकमा छलफल भएका विषयहरुलाई औपचारिकता दिने विषयमा समेत सहमति भएको नेपाली दूतावासले जनाएको छ।

मन्त्री श्रेष्ठको निमन्त्रणमा मलेसियाका मानव संसाधन मन्त्रीले छिटै नै नेपाल भ्रमण गर्ने भएका छन्।

प्रकाशित मितिः २०७९ बैशाख १६ शुक्रबार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय