सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले फिल्म क्षेत्र उत्साहित
काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई नेपाली फिल्म क्षेत्रका दुई संस्थाले स्वागत गरेका छन् ।
चलचित्र संघ र चलचित्र निर्माता संघले शनिबार र आइतबार बिदा दिने सरकारी निर्णयलाई लामो समयदेखिको आफूहरुको माग पूरा भएको भन्दै स्वागतयोग्य भएको बताएका हुन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखिको आफूहरुको माग पूरा भएको भन्दै खुसी व्यक्त गरे ।
शनिबार व्यक्तिगत कार्य सम्पन्न हुँदा आइतबार मनोरञ्जनलाई समय दिन सकिने उनको धारणा छ । ‘अब मानिसलाई शनिबार काम सकेर आइतबार फिल्म हेर्न छुट हुन्छ,’ उनले भने ।
सिनेमा हलहरुको छाता संस्था चलचित्र संघका सदस्य नरेन्द्र महर्जन पनि सरकारी निर्णय स्वागतयोग्य भएको बताए । ‘अब शनिबारकै बराबर व्यापार हुन्छ किनभने फिल्म क्षेत्रमा बिदाको दिनको महत्व हुन्छ,’ महर्जनले भने, ‘यसअघि हामीले पर्यटन मन्त्रालयमा पनि यसबारे दबाब दिएका थियौं । खुसी लागेको छ ।’
सुरुमै आइतबार बिदाको बानी नपर्ने भएपनि क्रमशः बिदाको बानी बस्दै जाँदा हलमा दर्शक आउन सक्ने उनको भनाइ छ । वैशाख ३० गते स्थानीय तहको चुनाव हुने भएकाले कुनै पनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका थिएनन् । वैशाख २३ गते शुक्रबार लक्का जवान, षट्कोण र डक्टर स्ट्रेन्ज २ रिलिज हुनेछन् ।
चुनावका कारण यी तीनैवटा फिल्मलाई दुई सप्ताहन्तको फाइदा हुनेछ । वैशाख ३१ गते शनिबार र जेठ १ गते आइतबार पनि सरकारी बिदा हुने भएपछि तीनैवटा फिल्मलाई फाइदा पुग्ने देखिएको छ ।
प्रकाशित मितिः २०७९ बैशाख १४ बुधबार
