उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

भक्तपुर न्यूज

१० वैशाख २०७९ ४:४२

उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

धनगढी । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिबार विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

धनगढी रंगशालामा साँझ साढे ६ बजे हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्दैछन् । वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टीमले दाबी गरेका छन् ।

शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरे । उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले फाईनल जित्नका लागि खेल्ने बताईन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भएको भएपनि उपाधि आफ्नो टीमले जित्ने दावी गरिन् ।

एपिएफल सेमिफाईनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाईनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो ।

पुलिसकी कप्तान घिमकुमारी गुरुङले आफुहरु पनि उपाधि जित्नको लागि खेल्ने बताईन् । पुलिसले सेमिफाईनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएको थियो भने क्वाटरफाईनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो ।

शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताएका छन् । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मितिः २०७९ बैशाख १० शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय