युक्रेन युद्धमा आफ्नो सेनाको ठूलो क्षति भएको रुसद्वारा स्वीकार

भक्तपुर न्यूज

२५ चैत २०७८ ९:०१

युक्रेन युद्धमा आफ्नो सेनाको ठूलो क्षति भएको रुसद्वारा स्वीकार

काठमाडौं । रुसले युक्रेन युद्धमा आफ्ना ‘सेनाले ठूलो क्षति’ भोगेको स्वीकार गरेको छ । युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको ४४ औँ दिनमा रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सेनातर्फ ठूलो क्षति भएको स्वीकार गरेका हुन् ।

पेस्कोभले बेलायती च्यानल स्काई न्यूजसँग सेनाको हताहति आफूहरूका लागि ठूलो त्रासदी भएको बताए । उनले ‘आगामी दिनमा’ मस्को युद्धको लक्ष्यमा पुग्ने आशा पनि व्यक्त गरे । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट रुसलाई निलम्बन गरिएपछि पेस्कोभको टिप्पणी आएको हो ।

पेस्कोभले युक्रेनी सरह बुचामा भएको नरसंहारमा रुसी सेना जिम्मेवार रहेको भन्ने कुरा अस्वीकार गरेका छन् । तर, रुसले ठूलो क्षति बेहोरेको उनको स्वीकारोक्ति भने अचम्मलाग्दो भएको बीबीसीले जनाएको छ ।

मार्च २५ मा रुसी रक्षा मन्त्रालयले आफ्ना १ हजार ३५१ सैनिक युद्धमा मारिएको बताएको थियो । युक्रेनले भने झण्डै १९ हजार रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । पश्चिमा नेताहरूले सात देखि १५ हजार रुसी सैनिकको मृत्यु भएको अनुमान गरेका छन् । तर यी तथ्याङ्कको स्वतन्त्र पुष्टि हुन सकेको छैन । बीबीसी

प्रकाशित मितिः २०७८ चैत २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय