ललितपुरमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

भक्तपुर न्यूज

२३ चैत २०७८ ८:५७

ललितपुरमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं । स्वास्थ्य कार्यालय ललितपुरले जिल्लाभर टाइफाइड विरुद्धको खोप अभियान सुरु गर्दैछ । सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम अनुसार ललितपुरमा पनि यो खोप अभियान सुरु गर्न लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा चैत २५ देखि वैशाख ८ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

स्वास्थ्य कार्यालय प्रमुख विष्टका अनुसार ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म र कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।

उनका अनुसार बालबालिकाहरूलाई खोप दिनका लागि अभिभावक उपस्थित हुनु पर्ने वा लिखित सहमति आवश्यक पर्ने बताए । धेरै बालबालिका विद्यार्थी रहेकाले विद्यालयहरूमा खोप केन्द्र सञ्चालन हुनेछन् ।

विद्यालय नजाने सम्भावित ठाउँमा पालिकाहरूको समन्वयमा छुट्टै खोप केन्द्र समेत सञ्चालन गरिने विष्टले बताए । देशभर ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्यका साथ सुरु हुने अभियानमा ललितपुरमा भने १ लाख ३१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको विष्टले जानकारी दिए ।

अभियानका लागि जिल्लामा २ सय ४० जना स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइएको छ भने विद्यालयका शिक्षिकालाई समेत खोप अभियानमा समावेश गरिने कार्यक्रम छ ।

खोप लगाएपछि साइड इफेक्ट समेत हुनसक्ने अवस्थालाई मध्यनजर गरेर स्वास्थ्यकर्मीको छुट्टै व्यवस्था गरिएको छ । विश्व स्वास्थ्य संगठनले टाइफाइडविरुद्धको खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगका लागि सिफारिस गरेको छ ।

यो खोप अभियानसँगै टाइफाइड खोपको अभियान सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो देश रहेको प्रमुख विष्टले बताए।

प्रकाशित मितिः २०७८ चैत २३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय