म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी

भक्तपुर न्यूज

१६ चैत २०७८ ७:२०

म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी गरेको छ ।

वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई विभागले अनलाइन गर्ने तयारी गरेको हो ।

यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा लिन सक्नेछन ।

विभागले यसअघि नै पुनः श्रमस्वीकृति भने पूर्ण रूपमा अनलाइन गरिसकेको छ । विभागका महानिर्देशक शेषनारायण पाडेलले हाल पुनः श्रमस्वीकृतिका सबै प्रक्रिया अनलाइनमार्फत भइसकेको जानकारी दिँदै संस्थागत अन्तिम श्रमस्वीकृति पनि अनलाइन नै गर्ने तयारी भएको बताए ।

उनले भने, ‘विभागले अबको १५/२० दिनभित्रै श्रम कार्यालयबाट हुने सबै सेवा अनलाइनबाट गरौँ भनेका छौँ तर प्राविधिक टोलीले भने केही समय थप्नुपर्छ भनेको छ, त्यसैले थोरै ढिला भए पनि अब छिट्टै अनलाइनमै जान्छौँ ।’

वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका निर्देशक हरिराम नागिलाले संस्थागत रूपमा गरिँदै आएको पूर्व र अन्तिम श्रमस्वीकृति पनि अनलाइन गरिएसँगै सेवाग्राही सेवा लिन कार्यालय आउनु नपर्ने बताए ।

हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ ।संस्थागत श्रमस्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रमस्वीकृति दिनेछ ।

पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रमस्वीकृति लिने गरेको देखिन्छ । हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रूपमा श्रमस्वीकृति जारी गर्दै आएको छ । गोरखापत्र

प्रकाशित मितिः २०७८ चैत १६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय