ओलीसँग सहमति माग्न बालकोट पुगे देउवा

भक्तपुर न्यूज

१६ वैशाख २०७४ ९:२४

भक्तपुर १६ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधन प्रस्तावमा सहमत हुन आग्रह गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न कांग्रेस नेताहरु शनिबार बिहान ओली निवास बालकोट पुगेका थिए।

‘हामीले ओली जीलाई संविधान संशोधन प्रस्तावमा सहमत हुन आग्रह गरौं’, कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘सबैलाई सहज हुने र सबै निर्वाचनमा आउने वातावरण बनाउनको लागि एमालेलाई आग्रह गर्‍यौं।’

कांग्रेस नेताहरुलाई ओलीले एमाले संशोधनको विपक्षमा रहेको भन्दै प्रस्तावलाई प्रक्रियामा जानै नदिने जवाफ दिएका थिए। ओलीले दुई चरणमा निर्वाचन गर्न लागिएकोमा पनि असन्तुष्टि व्यक्त गरेका थिए। स्रोतका अनुसार ओलीले दुई चरणमा निर्वाचन गर्दा थप समस्या हुने भन्दै वैशाख ३१ र जेठ ३१ बाट बीचको मिति खोजेर एकै चरणमा गर्नु पर्ने नयाँ प्रस्ताव राखेका थिए।

कांग्रेस नेताहरुले प्रस्तावमा देखिएका प्राविधिक कुराहरुलाई मिलाएर जान सकिने बताएका थिए। उनीहरुले त्यसको लागि प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन्। सरकारले मधेसी मोर्चासँग संविधान संशोधन गर्दै दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने सहमति गरे पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले भने त्यसमा सहमत भएको छैन। छलफलमा कांग्रेस तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल र कृष्ण सिटौला थिए भने एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेल सहभागि थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *