क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ जनाविरुद्ध झन्डै १० करोड रुपैयाँको मुद्दा दायर

भक्तपुर न्यूज

१ चैत २०७८ ९:१५

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ जनाविरुद्ध झन्डै १० करोड रुपैयाँको मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले डिजिटल कारोबार गैरकानुनी रुपमा गरि राजश्व हिनामिना गरेको अभियोगमा दुई जनाविरुद्ध ९ करोड ७४ लाख बराबरको विगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

गैरकानुनी तरिकाले डलर सटही तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले मोरङको रतुवामाई नगरपालिका–७ का २८ वर्षीय पुष्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

विभागले मंगलबार ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैयाँ बिगो माग गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको उल्लेख गरेको छ। उनीहरूले सामूहिक रूपमा मोबाइल एप वान एक्स बेट, बाइनान्स, एडिभी क्यास, क्वाइनबेस, प्याक्सफुल प्रयोग गरी डलर विनिमय गरेको विभागको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ।

उनीहरूले अमेरिकी डलर सटही र क्रिप्टोमा लगानीकर्ताको रूपमा रहेर नेपालका बैंकबाट ठूलो रकम विनिमय गराएको विभागका अभियोगपत्रमा उल्लेख छ।

पुष्करले मेगा बैंकबाट ८४ लाख ८३ हजार ४२९, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख ७६ हजार ९९, एनआईसी एसिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार ८८९ र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५३९ गरी ७ करोड ५७ लाख ७१ हजार ९५८ रुपैयाँ विनिमय गराएको अनुसन्धानमा खुलेको छ।

यस्तै, लिम्बूले एनआईसी एसिया बैंकबाट दुई करोड १६ लाख ९८ हजार २४ रुपैयाँ विनिमय गराएको पाइएको छ। नेपालमा मोबाइल एपबाट डलर विनिमय कारोबार प्रतिबन्धित छ। तर, पछिल्लो समयमा यसको कारोबार बढिरहेको छ।

श्रेष्ठ र लिम्बूले विदेशी विनिमय (नियमित गर्ने) ऐन, राष्ट्र बैंकले निषेधित गरेको कसूर पुष्टि गरेको देखिएकाले बिगो जफत र तीन वर्षसम्म कैद सजाय माग अभियोगपत्रमा गरिएको छ।

विभागले केही समयअघि कैलाली लम्कीचुहा नगरपालिका–३ का दिनेश खड्कासहित तीन जनाविरूद्ध ३७ करोड बिगो दाबी गर्दै क्रिप्टोकरेन्सी कारोबार गरेर विदेशी विनिमय दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मितिः २०७८ चैत ०१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय