दैलेखमा काँग्रेस, एमालेको होडबाजी

भक्तपुर न्यूज

१४ वैशाख २०७४ ८:५८

दैलेखमा काँग्रेस, एमालेको होडबाजी

कुमार प्याकुरेल
दैलेख, १४ बैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा प्रदेश नंम्बर ६ को पर्यटकिय गन्तव्यका रुपले चिनिएको दैलेखमा राजनीतिक दलहरुले निर्वाचनको जोड घटाउ सुरु गरेका छन् ।
बैशाख ३१ गते पहिलो चरण मै निर्वाचन हुने भएपछि यहाँका राजनीतिक दलहरुले निर्वाचनको जोड घटाउ थालेको नेपाली काँग्रेसका नेता मणिराम रेग्मीले बताए ।

पछिल्ला २ वटा संविधानसभा निर्वाचन यता नेकपा एमालेको पकड रहेको दैलेख जिल्लामा ९ वर्षपछि कांग्रेसले नतिजा उल्टाउने ध्याउन्नमा लागेको स्रोत बताउँछ ।
४ वटा नगरपालिकासहित ११ वटा स्थानीय तह रहेको दैलेखमा यस पटक मुख्य गरी एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने दुवै दलले स्वीकार गरेका छन् । नेकपा माओवादी केन्द्रले भने तत्कालीन जनयुद्वका बेलाको आधार इलाकाका रुपमा रहेको नौमुले गाउँपालिकालाई सुरक्षित गर्ने रणनीतिमा छ ।

निर्वाचनको मिति नजिकिएपछि कांग्रेस पुनरागमनको पर्खाइमा छ भने एमालेले आफ्नो पुरानो पकडलाई कायम राख्न लागि परेको छ । करिब एक दशकसम्म दैलेख एमालेकै कब्जामा छ । एमालेले मुख्य प्रतिस्पर्धी कांग्रेसलाई पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा पराजित गरेको थियो । पहिलो संविधानसभा निर्वाचनमा कडा प्रतिस्पर्धा भएको दैलेखमा दोस्रो निर्वाचनमा कांग्रेस अझै कमजोर देखिएको थियो । तर, यो स्थानीय तहको निर्वाचनमा दैलेखमा कांग्रेसले एक दशकपछि पुनरागमन हुने दाबी गरेको छ ।

दोस्रो संविधानसभाको भन्दा अहिले आफ्नो माहोल निकै राम्रो भएकोले यसपटक पुनरागमन हुने नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण बीसीले दाबी गरे । ‘हिजो के थियो भन्दा पनि अहिले हामी धेरै मजबुत भएका छौ,’ सभापति बीसीले भने,’यस पटक कांग्रेसको पुनरागमन हुन्छ ।’

उनले कांग्रेसले एक दशक अघि विकास निर्माणको सुरु गरे पनि करिब एकदशक नेतृत्वमा नहुँदा विकास निर्माण ओझेलमा परेकाले त्यसका लागि कांग्रेसको पुनरागमन आवश्यक भएको बताए । दैलेखका ११ वटा स्थानीय तह मध्ये ८० प्रतिशतमा आफ्नो जित सुनिश्चित भएको दावी उनको छ ।

गुराँस, डुङ्गेश्वर, नौमुले र भैरवी गाउँपालिका, चामुण्डा(विन्द्रासैनी नगरपालिका, आठवीस र नारायण नगरपालिकामा कांग्रेसको जीत निश्चित भएको उनले बताए । अन्यमा पनि प्रतिस्पर्धा हुने उनको दाबी छ ।

पहिलो संविधानसभाको चुनावमा एउटा सीट र दोस्रो निर्वाचनमा दैलेखका २ वटै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो । त्यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि एमालेको दैलेखमा बलियो उपस्थिति थियो । एमाले क्षेत्र नं। २ मा विजयी भएको थियो भने क्षेत्र नं। १ मा पराजित भए पनि निकटतम प्रतिस्पर्धी थियो ।

दुई वटा संविधानसभाको निर्वाचनको मतलाई आधार मान्दा पछिल्लो ९ वर्षमा दैलेख जिल्ला एमालेकै कब्जामा छ । पुनः यही इतिहासलाई निरन्तरता दिन एमाले यतिबेला निर्वाचनमा होमिएको छ । पुनः इतिहास दोहोरिने एमालेको दाबीसमेत छ । दोस्रो संविधानसभामा प्रभावशाली नेता माओवादीमा प्रवेश गर्दासमेत दुवै क्षेत्र जितेको भन्दै एमाले नेताहरुले स्थानीय तह निर्वाचनमा एमालेकै पल्ला भारी हुने दाबी एमाले दैलेखका अध्यक्ष रविन्द्र शर्माले गरेका छन् ।
जिल्लाका चार नगरपालिकासहित ८ वटा स्थानीय तह सुनिश्चित रहेको र अन्यमा पनि प्रतिस्पर्धाकाबीच विजयी हुने दावी अध्यक्ष शर्माको छ । एमालेले भैरबी बाहेक अन्य १० स्थानीय तहमा उम्मेदवारको समेत टुङगो लगाएर प्रचारमा लागिसकेको छ ।

नेकपा एमालेका अध्यक्ष शर्माले नेपाली कांग्रेस बाहेक अन्य जुनसुकै राजनीतिक दलहरुसँग नगरपालिका, गाउँपालिका र तिनका वडाहरुमा तालमेल हुन सक्ने बताए । पूरै जिल्लामा भने तालमेल हुने सम्भावना नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय