आयल निगमले आईओसीलाई सवा ११ अर्ब पठाउँदै

भक्तपुर न्यूज

१० फागुन २०७८ ८:५६

आयल निगमले आईओसीलाई सवा ११ अर्ब पठाउँदै

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेसन (आईओसी)लाई भोलि बुधबार ११ अर्ब २६ करोड रुपैयाँ भुक्तानी पठाउने भएको छ । १५–१५ दिनमा निगमले आईओसीलाई रकम भुक्तानी गर्दै आएको छ । यसपटक निगमले आफ्नै स्रोतबाट रकम भुक्तानी गर्न लागेको निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

अबको १५ दिनपछि निगमले फेरि आईओसीलाई रकम भुक्तानी गर्नुपर्नेछ । त्यतिबेला करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने साहले बताए । ‘१५ दिनपछि अर्थात मार्च ८ मा आईओसीलाई भुक्तानी गर्न ३ देखि ४ अर्ब रकम अपुग हुन सक्छ’ उनले भने ‘त्यो बेला मूल्य स्थिरीकरण कोषबाट रकम परिचालन गर्नुपर्ने हुन सक्छ ।’ निगमका अनुसार मूल्य स्थिरीकरण कोषमा कुल ८ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।

निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्म २४ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय आयल कर्पोरेसनले पनि मूल्य बढाएर पठाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च दरले बढेको छ । मंगलबार कच्चा तेल (ब्रेन्ट)को मूल्य प्रतिब्यारेल ९९ अमेरिकी डलरसम्म पुगेको छ । एक साताअघि यो प्रतिब्यारेल ९२ डलरको हाराहारीमा थियो । कच्चा तेलको मूल्य बढ्दै गएकाले आगामी दिनमा पेट्रोलियम पदार्थ अझै महँगिने छ ।

बढेको मूल्यअनुसार समायोजन नगर्दा घाटा बढेको निगमको भनाइ छ । निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ५९ पैसा, डिजेलमा १२ रुपैयाँ ९८ पैसा र ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ ७४ पैसा नोक्सानी छ । मट्टितेलमा भने प्रतिलिटर २५ रुपैयाँ ६ पैसा र आन्तरिक हवाई इन्धनमा ९ रुपैयाँ ३ पैसा नाफा छ । त्यस्तै वाह्य हवाई इन्धनमा प्रतिलिटर ३९ रुपैयाँ ९१ पैसा नाफा छ ।

प्रकाशित मितिः २०७८ फागुन १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय