आज दिउँसो कांग्रेस घोषणापत्र सार्वजनिक तयारी

भक्तपुर न्यूज

१२ वैशाख २०७४ ४:०३

१२ वैशाख, काठमाडौं । ठूलो राजनीतिक दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७४ का लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बृहत् छलफल र सबै पक्षसँगको सुझाव सङ्कलनपछि कांग्रेसले पार्टीको घोषणापत्र सार्वजनिक गर्न लागेको काँग्रेसले जानकारी दिएको छ।

पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाले मंगलबार अपराह्न ३ बजे एक कार्यक्रमका बीच पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

कांग्रेसले तयार पारेको घोषणापत्रमा ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको एक नेताले बताए ।

संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुसार स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्ने मुद्दालाई काँग्रेसले प्राथमिकतामा राखेको घोषणापत्र तयारी समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

कांग्रेसले तयार पारेको घोषणापत्रमा स्थानीय तहमा जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, एक घर, एक रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ शैयाको सुविधासम्पन्न अस्पताल बनाउनेलगायत विकासे एजेण्डा रहेका छन् ।

निर्वाचनमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, महिला स्वयम्सेविकाको सुविधा वृद्धि, सबै वडा, टोल जोड्ने पक्की सडक, उज्यालो बस्ती, घरघरमा स्वच्छ ऊर्जा, घरघरमा खानेपानी धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोष्ट, बाल, युवा तथा महिला क्लब, बारुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गर्ने विषयलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ ।

कांग्रेसले नेता महेश आचार्यको नेतृत्वमा एक मस्यौदा समिति गठन गरेर घोषणापत्र निर्माणको जिम्मा दिएको थियो । पार्टीले दिएको जिम्मेवारी अनुसार नेता आचार्यले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पेसागत संस्थाका प्रतिनिधिलगायत पार्टी केन्द्रीय समिति र सांसदसँग छलफल गरी घोषणापत्र तयार गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *