मनोनयन मिति सार्ने निर्णय

भक्तपुर न्यूज

११ वैशाख २०७४ ८:४७

काठमाडौं, ११ वैशाख । सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठकले यस अघि तय भएको वैशाख १६ गतेको मिति सार्ने निर्णय गरेको छ । बैठकले वैशाख १८ मा उम्मेद्वारको मनोनयन दर्ता गर्ने निर्णय गरेको हो ।

सोमवार आजको बैठकले निर्वाचन आयोगको आफ्नो अन्य तयारीलाई यथावत् राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गरेको बैठकमा स्थानीय तह निर्वाचनको राजनीतिक तथा प्राविधिक तयारीबारे कुराकानी भएको थियो ।

बैठकमा निर्वाचन आयोगको काम र तयारी पनि प्रभावित नहुने र दर्ता प्रक्रियामा छुटेका दलहरुलाई पनि निर्वाचनमा समावेश गर्ने विधिका विषयमा केन्द्रित भएर छलफल भएको थियो ।

दोस्रो चरणको निर्वाचनका लागि दल दर्ताको व्यवस्था गर्ने तर तत्काल कानून संशोधन सम्भव नभएकाले नयाँ चुनाव चिन्ह र मत पत्र छापेर निर्वाचन गर्दा निर्वाचन प्रभावित हुने भएकाले चुनाव चिन्हसम्बन्धि व्यवस्था निर्वाचन आयोगले तोकेबमोजिम हुने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्थाले निर्वाचन आचारसंहिता आकर्षित हुने भएकाले बजेटलाई केही समय पर सार्ने विषयमा पनि कुराकानी भएको थियो ।

बैठकसँगै निर्वाचनसँग सम्बन्धित सम्पूर्ण अन्यौल हटेको प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए ।

सरकार र गठबन्धन बीचको बैठकले संविधान संशोधन र निर्वाचनबारे गरिएको सहमति महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै केही दिन भित्रै राष्ट्रिय सहमतिको दस्तावेज बनाएर हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *