आफैँले हत्या गरेर आमाको खोजतलास गर्न छोरा गएपछि…
विराटनगर । मोरङमा आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । जग्गाको विषयमा बिवाद हुँदा आमाको हत्या गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यही माघ १२ गतेदेखी घरैबाट हराएकी भनिएकी वृद्धाको हत्या पछि जलाएको भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धान शुरु भएको थियो । जगमायाँको बारेमा १४ गते प्रहरीमा निवेदन दिएको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा १२ गते बिहान ४ बजे घाँटी थिचेर हत्या गरेर शनिस्चरे नगरपालिका २ मा रहेको हरियाली सामुदायिक वनमा रहेको घाटमा जलाएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जग्गा श्रीमतीको नाममा बनाएको जानकारी भए पश्चात उनी विरुद्ध अदालतमा मुद्धा समेत परेको थियो ।
अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेपछि उनीहरुबीच विवनद भएको प्रहरीले जनाएको छ । त्यही रिसमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी श्रेष्ठले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका कमललाई जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धि कसुर मुद्दामा १० दिनको म्याद थप गरिएको छ।
प्रकाशित मितिः २०७८ माघ २० बिहिबार
