काठमाडौं, ६ वैशाख । संसदमा प्रतिनिधित्व गर्ने मुख्य ५ दलले निर्धारित मितिमै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख पाँच राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बैठकले स्थानीय तहको निर्वाचन पूर्व नै मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन वार्ता र सम्वादको प्रक्रिया जारी राख्ने निर्णय गरेको छ ।
बैठकमा स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाले उठाएका माग र संविधान संशोधनका विषयमा छलफल भएको थियो । बैठकले बैशाख ३१ को निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न र मधेसी मोर्चालाई पनि निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, नेता वर्षामान पुन ‘अनन्त’, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, आपूर्तिमन्त्री दीपक बोहरा लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।
निर्धारित मितिमै चुनाव गर्ने मुख्य ५ दलको प्रतिबद्धता
0
Share.
Comments