राष्ट्रपति विद्यादेवीलाई राज्यमन्त्रीले गरिन् स्वागत
काठमाडौं, ४ वैशाख । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय राज्यमन्त्रीले स्वागत गरेकी छन् । नयाँदिल्लीको ईन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई महिला तथा बालबिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी हुन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् । भारत सरकारले भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई स्वागतका लागि विमानस्थल पठाएको छ ।
त्यसअघि विमानस्थलमा ओर्लिएलगत्तै भण्डारीलाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले स्वागत गरेका थिए । इन्दिरागान्धी विमानस्थलबाट राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति भवनतर्फ प्रस्थान गरेकी छन् ।
राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किनेछिन् । राष्ट्रपति भारत जाने दिन सार्बजनिक विदा दिएको सरकारले उनी फर्किने दिन शुक्रबारको विदा भने फिर्ता लिएको छ ।