केयूमा ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’ कार्यक्रम सुरु

भक्तपुर न्यूज

५ माघ २०७८ ९:१३

केयूमा ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’ कार्यक्रम सुरु

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’ विषयको कार्यक्रम सुरु गरेको छ । विश्वका ख्यातिप्राप्त विश्वविद्यालयमा सञ्चालनमा रहेको यो कार्यक्रम केयूले नेपालमा पहिलोपटक सुरु गरेको हो ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. देवीप्रसाद बिडारीले बिजनेस र इकोनोमिक्सलाई जोडेर एकीकृत रूपमा नयाँ कार्यक्रम ल्याएको बताए । यो कोर्सले विद्यार्थीमा विश्लेषणात्मक क्षमता बढ्ने उनको भनाइ छ ।

सहायक डिन प्रा।डा। अच्युत वाग्लेले हार्वर्ड, युनिभर्सिटी अफ सिकागो, युनिभर्सिटी अफ मिसिगनलगायतका विश्वविद्यालयमा यो पाठ्यक्रम पढाइ भइरहेको बताए । अन्तर्राष्ट्रिय जगत्मा अर्धशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने बिजनेस इकोनोमिक्सका विज्ञहरूको उत्पादन गर्नु यो कोर्सको उद्देश्य रहेको उनको भनाइ छ ।

यो कोर्स अध्ययन गरेपछि अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन हुने र विद्यार्थीमा डेटा विश्लेषणमा विशेष दक्षता विकास हुने उनले बताए । मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्सका जनशक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था, उद्योग तथा व्यवसाय र व्यापारिक निकायलाई आर्थिक निर्णयका लागि चाहिने बिजनेस इकोनोमिस्टहरूको माग पूरा गर्ने केयूले जनाएको छ ।

यो जनशक्ति आर्थिक नीति–निर्माणमा पनि निर्णायक हुने विश्वविद्यालयको अपेक्षा छ । दुई वर्षको चार सेमेस्टरमा सञ्चालन हुने यो कार्यक्रमको कुल ६६ क्रेडिट आवर रहेको जनाइएको छ । अर्थशास्त्र, विज्ञान, व्यवस्थापन र इन्जिनियरिङ संकायमा स्नातक तहमा ५० प्रतिशत वा जिपिए २ ल्याएर उत्तीर्ण हुने विद्यार्थीले यो कार्यक्रममा भर्नाका लागि योग्य हुने केयूले जनाएको छ ।

प्रकाशित मितिः २०७८ माघ ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *