कोरोनाको तेस्रो लहरमा प्रदेश १ सरकारको तयारी
काठमाडौैैं । कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि प्रदेश १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई चुस्त दुरुस्त बनाउन थालेको छ ।
गम्भीर अवस्थाका संक्रमितको संख्या कम भए तापनि सम्भावित खतरालाई मध्यनजर गर्दै अस्पतालहरूलाई तयारी अवस्था रहन भनिएको सामाजिक विकास मन्त्री जयराम यादवले बताए ।
उनका अनुसार सरकारी अस्पतालमा रहेका औजार उपकरण र जनशक्ति चुस्त दुरुस्त बनाउन निर्देशन दिइएको छ ।
दरबन्दी अनुसारका चिकित्सक र कर्मचारी अभाव रहे पनि करारमा चिकित्सक र कर्मचारी थप्ने कामको शुरुवात गरिएको यादवले बताए ।
कोरोना संक्रमणसँग लड्नका लागि प्रदेश सरकारले तयारी थालेको बताउँदै मन्त्री यादवले कोरोना जनसुरक्षा कोषमा बजेट नभएकोले प्रदेश सरकारले त्यसमा पर्याप्त रकम हालेर नागरिकको सुरक्षामा ध्यान दिने बताए ।
अस्पतालमा उपकरण अहिले तयारी अवस्थामा राखिएको, अक्सिजन प्लान्ट थपिएको भेन्टिलेटर पनि आवश्यक संख्यामा रहेको मन्त्री यादवले बताए ।
प्रदेश सरकारले पहाडी जिल्लाहरू धनकुटा, पाँचथर, इलाम, उदयपुरमा पठाएको भेन्टिलेटर सञ्चालनमा समेत प्रदेश सरकारले तयारी थालेको छ । यसका लागि आवश्यक पर्ने जनशक्ति पठाउने तयारी भइरहेको मन्त्री यादवले बताए ।
कोरोना संक्रमण बढेर गम्भीर खाले बिरामी भए भेन्टिलेटर आवश्यक पर्ने भएकाले प्रदेश सरकारले पठाएको भेन्टिलेटर सञ्चालनको तयारी भएको हो । जडान भइसके पनि जनशक्तिको अभावमा ती अस्पतालमा भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन् ।
यस्तै कोसी कोभिड अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट जडान गरिएकाले पहिलेजस्तो अक्सिजनको समस्या नहुने दाबी मन्त्री यादवको छ ।
ुहामी प्रदेशमा अक्सिजनको अभाव हुन नदिन लागेका छौँ, मन्त्री यादवले भने, ‘तत्कालै आत्तिनु पर्ने अवस्था छैन । हामीसँग भेन्टिलेटर र बेडहरु तयारी अवस्थामा राखिएको छ ।’
अवस्था भयावह भएको अवस्थालाई ध्यानमा राखेर सबै जिल्ला अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ ।
प्रदेश १ मा स्वास्थ्य क्षेत्रका कर्मचारी कमी भएको कारण त्यसले समस्या हुनसक्ने आँकलन गरिएको छ । अहिले स्वास्थ्य क्षेत्रका ४७ प्रतिशत मात्र कर्मचारीको भरमा चलाउनु परेकोले समस्या भएको उनको गुनासो छ ।
प्रदेशमा स्वास्थ्य क्षेत्रमा अहिले ५३ प्रतिशत कर्मचारीको अभाव छ । यो अभाव पूर्ति गर्न प्रदेश लोकसेवा ऐन संशोधनको तयारी भएको मन्त्री यादवले बताए ।
प्रदेश लोकसेवा ऐनमा स्वास्थ्य भन्ने शब्द नराखिँदा प्रदेश लोकसेवाले स्वास्थय क्षेत्रमा कर्मचारीको भर्ना प्रक्रिया शुरु गर्न सकेको छैन । ऐन संशोधनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मुख्य सचिवसँग कुरा भइसकेकाले चाँडै ऐन संशोधन हुने यादवले विश्वास गरे ।
ऐन संशोधन भए प्रदेशमा स्वास्थय क्षेत्रमा देखिएको कर्मचारी अभावको समस्या हटेर जाने मन्त्री यादवले दावी गरे ।
संक्रमण बढ्दो, अस्पताल भर्ना न्यून
प्रदेश १ मा कोरोना संक्रमणदर बढे पनि अस्पताल आउनेको संख्या न्यून रहेको छ । संक्रमतिको संख्या बढ्दै जाँदा अस्पताल आउनेको संख्यामा भने उल्लेख्य वृद्धि भएको देखिन्न ।
सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म प्रदेशका विभिन्न अस्पतालमा आएर उपचार गराउनेको संख्या जम्मा ५३ जना मात्र रहेका छन् । २ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।
सामाजिक विकासमन्त्री यादवका अनुसार पछिल्लो केही दिनयता कोरोनाको संक्रमण बढेको भए पनि ओमिक्रोन भेरियन्टका संक्रमित प्रदेश १ मा देखिएका छैनन् ।
संक्रमण बढ्दै जाँदा नागरिकसम्म खोप पुर्याउने अभियानलाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आजसम्म कुल जनसंख्याको ७३ प्रतिशतले खोप लगाएको मन्त्री यादवले जानकारी दिए । ‘प्रदेश १ मा करिब ७० प्रतिशतले खोप लगाइसकेका छन्, उनले भने, ‘दुवै डोज खोप लगाउनेको ५३ प्रतिशत छन्, बाँकीलाई अहिले पनि लगाउने काम जारी रहेको छ ।’
प्रदेश १ मा खोपको अभाव नभएको दाबी गरेका सामाजिक विकास मन्त्री यादवले १८ वर्ष उमेरभन्दा माथिका सबैलाई पुग्ने पर्याप्त खोप रहेको बताए । ‘१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको छ’, ‘उनले भने, यो उमेर समूहका बालबालिकालाई यही हप्तादेखि लगाउने छौँ । माघ महिनाको दोश्रो साताभित्र प्रदेश १ मा बुस्टर डोज खोप लगाउन थाल्नेछौँ ।’
उनले हिमाली र पहाडी जिल्लाको तुलनामा तराई र सहरमा खोप लगाउनेको संख्या न्यून रहेको बताए ।
भीडभाड व्यवस्थापनमा चुनौती
प्रदेश १ को राजधानी विराटनगर पछिल्लो समय तेस्रो लहरको ुहटस्पटुको रूपमा विकास हुँदैछ । दैनिक १५० बढी संक्रमित राजधानी विराटनगरमा नै देखिन थालेपछि अहिले कोभिडको हटस्पट बन्ने सम्भावना बढेको हो । संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ र सुनसरी रेडजोनमा परेको छ । यसबाट पनि संक्रमणदर उच्च रहेको देखिन्छ ।
यसरी एकाएक कोरोना संक्रमणको दर बढ्नुको कारण भनेको भीडभाड रहेको विज्ञहरूले बताएका छन् । मास्क अनिवार्य, हिँडड्ल गर्दा सावधानी अपनाउने, भिडभाड नगर्ने, सार्वजनिक सभा(समारोह नगर्ने, गर्नै परेपनि दुरी कायम गरेर २५ जनाभन्दा बढी गर्न नपाउने भनिए पनि भिड व्यवस्थापन नहुँदा कोभिड संक्रमणको दर बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले बताए ।
‘हामीले संक्रमण फैलिन नदिनको लागि सावधानी अपनाउन भनेका छौँ, उनले भने, नागरिक सचेत देखिएका छैनन्, जसको कारण समुदायमा संक्रमणको दर बढ्दो छ ।’
तत्काल लकडाउन गर्न सक्ने अवस्थामा सरकार देखिएको छैन । स्थानीय प्रशासन पनि सकभर नागरिकको सुरक्षाका लागि सावधानी नै महत्त्वपूर्ण हुने बताउँदै आएको छ । स्वास्थ्यकर्मी पनि कोभिडको रोकथाम नियन्त्रणको उपयुक्त उपाय भनेको सावधानी नै हुने बताउँछन् ।
प्रकाशित मिति २०७८ माघ ४ मंगलबार
