त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पढाइ बन्द , सञ्चालित परीक्षा भने नरोकिने

भक्तपुर न्यूज

२ माघ २०७८ ८:५९

त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पढाइ बन्द , सञ्चालित परीक्षा भने नरोकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएको छ। कोरोना संक्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ।

त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ। विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने यसअघि नै सरकारले निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या पनि दैनिक बढिरहेको छ। त्रिविमा पढाइ बन्द हुने भए पनि यसअघि नै तय गरिएका र हाल सञ्चालनमा रहेका परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय कार्यकारी परिषद्ले गरेको छ।

त्रिविले अहिले स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन गरिरहेको छ। तेस्रो वर्षको परीक्षा माघ अन्तिम साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी छ।

वार्षिक शैक्षिक कार्यतालिका प्रभावित नहोस् भनेर परीक्षालाई सुचारु गर्न लागिएको त्रिविले जनाएको छ । भौतिक उपस्थितिमा पढाइ रोकिए पनि परीक्षाको मिति नजिकिएका विषयको पठनपाठन अनलाइन माध्यमबाटै सञ्चालन गरिनेछ। प्रयोगात्मक कक्षाहरू भने पूर्वसावधानी अपनाउँदै भौतिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने त्रिविले जनाएको छ।

पढाइ बन्द रहे पनि छात्राबास खुलै रहनेछन् तर सरकारी निर्णयको पूर्ण पालना गरेर मात्रै छात्राबास सञ्चालन गर्ने निर्णय पनि त्रिविले गरेको छ। बन्द रहेको समयलाई हिउँदे बिदामा मिलान गरिनेछ।

प्रकाशित मितिः २०७८ माघ ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *