ध्रुवे हात्तीको आक्रमणबाट चितवनमा एक सैनिक जवानको मृत्यु
काठमाडौं । जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो ।
हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो । निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन ।
साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । सेनाको हेडक्वार्टरबाटै नाम खुलाउने भन्ने भएर अहिले मृतकको नाम नखुलाइएको उनले बताए ।
ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो ।
प्रकाशित मितिः २०७८ माघ ०२ आइतबार
