चुनावको बिषयमा एमालेको दोहोरो चरित्र : मन्त्री भण्डारी
भक्तपुर, २८ चैत । वन मन्त्री शंकर भण्डारीले प्रतिपक्ष दल नेकपा एमालेले चुनावको बिषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
पूर्व कर्मचारी संघ भक्तपुरको आयोजनामा गरिएको तेस्रो वार्षिकोत्सव तथा स्मारिका सार्वजनिकरण कार्यक्रममा बोल्दै भण्डारीले एमाले आफू नौ महिना सरकारमा रहँदा चुनावको मिति घोषणा गर्न नसक्ने र हाल चुनावका बारे चर्को वकालत गर्दै समस्या समाधान तर्फ अग्रसर बन्न नसक्ने एमालेको दोहोरो चरित्रका साथै नियत माथि शंका उब्जिएको बताए ।
उनले चुनाव दूई तहमा गर्ने जुन चर्चा चलेको छ यसमा समेत शंका गर्न सकिने भन्दै दोस्रो चरणको चुनावको समयमा काँग्रेसका सभापति सरकारको प्रमुख रहने र त्यो बेला निर्वाचन हुन नसके त्यसको अपजस काँग्रेसलाई जाने तर्फ सजग रहन समेत आग्रह गरे ।
उनले अव निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने वातावरण तयार भईसकेको अवस्थामा प्रतिपक्षले चुनाव सार्न राखेको प्रस्तावको समेत कुनै औचित्य नरहेको भन्दै सके एकै चरण अथवा दुई चरणमा समेत निर्वाचन सम्पन्न हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्व कर्मचारी संघका केन्द्रीय अध्यक्ष बटुकृष्ण पौडेल, संघका महासचिव ऋषिराम आचार्य, पूर्व सांसद लेखनाथ न्यौपाने लगायतले देश निर्वाचनमा होमिसकेकोले अब कांग्रेसलाई विजयी गराउन आजैबाट लाग्नु पर्ने बताए ।