चुनावमा उठ्न दुई प्रधानाध्यापकसहित तीन शिक्षकले जागिर छाडे
झापा, २२ चैत । स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्न झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् ।
शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि आगामी वैशाख ३१ गते हुने चुनावमा सहभाग उम्मेदवार दिएर राजनीतिमा लाग्न जागिरबाट हालै राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन् ।
उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का नेकपा एमालेबाट उम्मेदवार बन्न लागेको जनाईएको छ ।
सिटौला काँग्रेस पार्टीबाट अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।
त्यसैगरी शिक्षक लोकबहादुर रोक्का शिवसताक्षी नगरपालिका–६ को वडाध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बन्ने तयारी छन् ।
यसैगरी, कचनकवल गाउँपालिकामा नेपाली काँग्रेस पार्टीबाट अध्यक्ष उम्मेदवारको आकांक्षी बनेका राजवंशीले पनि राजीनामा दिएका हुन् ।
तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालयका अधिकृत दिनेश आचार्यले बताए ।
