एजेन्सी, २१ चैत । स्पेनिस ला लिगा लिग अन्तर्गत गएराति भएको खेलमा लियोनल मेस्सी बिना खेलेको बार्सिलोनाले १० खेलाडीमा सीमित भएको ग्रनाडालाई ४–१ ले हराएर रियल मड्रिडसँगको अंक दूरी दुई नै कायम गरेको छ । बार्सिलोनाका मेस्सी एक खेलको प्रतिबन्धका कारण यो खेलमा मैदानमा थिएनन् ।
४४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफको सुरुमा बोगाले ग्रनाडाका लागि बराबरी गोल फर्काए । ६४ औं मिनेटमा पाको एल्कासेरले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ८२ औं मिनेटमा हेनरी एग्बो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ग्रनाडा १० खेलाडीमा सीमित भयो । त्यसको एक मिनेटपछि इभान रेकिटिकले बार्सिलोनाका लागि अर्को गोल थपे । इन्जुरी समयमा नेइमारले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो ।
जितपछि दोस्रो स्थानको बार्सिलोनाको २९ खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ६८ अंक छ ।
मेस्सी बिनाको बार्सिलोनाले जित्यो
0
Share.
Comments