काठमाडौं । कप्तान भेषराज लिम्बू र श्यामकुमार लिम्बूले दोस्रो हाफमा गरेको गोलमा झापा भेट्रान्स क्लबले त्रभुवन आर्मी भेट्रान्स क्लबलाई हराउँदै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा झापाले भेषराजको गोलबाट ४७औँ मिनेटमा अग्रता लिएको थियो । अन्तिम मिनेटमा श्यामकुमारले अर्को गोल थपेपछि झापाले फाइनलमा स्थान पक्का गरेको थियो ।
झापाले अब फाइनलमा एफडी खुमलटार र एसएनकेसीबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खुमलटार र एसएनकेसीले आजै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । खुमलटारले फ्रेन्ड्स क्लब भेट्रान्सलाई ५–० तथा एसएनकेसीले पोखरा–११ भेट्रान्सलाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
झापाले शुक्रबार चितवनलाई ४–० तथा आर्मीले भनिमण्डलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका थिए ।
प्रकाशित मितिः २०७८ कार्तिक १४ आइतबार
Comments