मधेसी मोर्चाले सप्तरी घटनाको सम्झनामा सभा गर्दै
काठमाडौ १३ चैत्र । मधेसी मोर्चाले आज सप्तरी घटनाको सम्झनामा श्रद्धाञ्जली सभा गर्दैछ । गत फागुन २३ गते एमालेले आयोजना गरेको सभाका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचजनाको सम्झनामा राजविराजमा सभा आयोजना गरिएको मोर्चाले जनाएको छ ।
राजविराजको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रभित्र दिउँसो १ बजेपछि सुरु हुने सभालाई मोर्चा आवद्ध दलका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चा घटक सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।
एमालेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको राजविराजमा आयोजना गरिएको सभा अवरोध गर्ने क्रममा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो ।
ज्यान गुमाएकाको सम्झनामा तराइका अन्य जिल्ला सदरमुकामहरुमा पनि श्रद्धाञ्जली सभा हुने महासचिव सुमनले बताउनु भयो ।
सभामा सहभागी हुन मोर्चा आबद्ध संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो, लगायतका मोर्चाका नेताहरु आज सप्तरी जाँदै छन् ।