दाहालले आज बोआओ सम्मेलनलाई संबोधन गर्दै
काठमाडौं १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै छन् । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन चीनको हाइनान प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री दाहालले आज नेपालको तर्फबाट उक्त सम्मेलनमा सम्बोधन गर्न लागेका हुन् ।
एसियन मुलुक र बिश्वव्यापि व्यापार प्रवद्धनको बिभिन्न पक्षमा छलफल हुने सम्मेलनमा दक्षिण एसियाली राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले पनि सम्बोधन गर्नेछन् । त्यसलगत्तै उहाँ आजै बेइजिङतर्फ पुगि नेपाली दुतावासले बेईजिङमा आयोजना गर्ने रात्रि भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।
भोली आईतवार प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्धन समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । उनको भोलीनै ग्रेटवालको अवलोकन गरेर चिनियाँ कम्युनिष्ठ पार्टीको बिदेश विभागले आयोजना गर्ने दिवा तथा रात्री भोजमा पनि सहभागीता रहने छ ।
सोमवार प्रधानमन्त्रीले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने छन् । साथै दाहालले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्ने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाने कार्यक्रम रहेको छ ।
त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । यसअघि हिजो प्रधानमन्त्री दाहालले र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले आगामि चैत १६ गते स्वदेश फर्कने कार्यक्रम तालिका रहेको छ ।