दाहालले आज चिनिया उपप्रधानमन्त्री झाङसँग भेट गर्ने
काठमाडौं ११ चैत । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनिया उपप्रधानमन्त्री झाङ गाउ ली सँग भेट गर्दैछन् । भेटमा दुई देशबीचको सम्बन्ध तथा द्धिपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्रमन्त्रायले जनाएको छ ।
चीनको हाइनान प्रान्तमा हुने बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो चीन प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालले सम्मेलनमा भोली सम्बोधन गर्ने जनाइएको छ ।
प्रधानमन्त्री दाहाल भोली बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बेइजिङ बसाईका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन् । आगामी सोमबार हुने भेटमा दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा कुराकानी हुने जनाइएको छ ।
यस्तै उनले पर्सी आइतबार बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्धः समृद्धिका अवसर’ विषयक कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जानेछ ।
त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
