काठमाडौं । युरो २०२० को फाइनलको दौरान वेम्बली स्टेडियमा भएको हिंसाको सजायस्वरुप इंग्ल्यान्डले आफ्नो एक खेल दर्शनबिना खेल्नुपर्ने भएको छ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफको कारबाहीमा परेपछि इंग्ल्यान्डले युरोपियन प्रतियोगिताको एक खेल दर्शकबिना खेल्नु पर्ने भएको हो।
यस्तै इंग्ल्यान्ड फुटबल संघलाई १ लाख युरो जरिवाना समेत गरिएको छ । इंग्ल्यान्ड एफएले निर्णयबाट दुखी भएपनि यूईएफएको निर्णय स्वीकार्ने जनाएको छ ।
गत जुलाई ११ तारिखमा वेम्बलीमा भएको युरोको फाइनल खेलमा इंग्ल्यान्ड इटालीसँग पेनाल्टीमा पराजित भएपछि समर्थकहरु र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
यस्तै सयौं समर्थकहरु वेम्बलीमा बिना टिकट प्रवेश गरे र खेलाडीको परिवारको लागि सुरक्षित गरिएको स्थानमा गएर बसेका थिए । सो घटनालाई लिएर प्रहरीले ५१ जनालाई पक्राउ गरेको थियो ।
इंग्ल्यान्डका समर्थकले इटालीको राष्ट्रिय धुनलाई समेत गिज्याएका थिए । जुलाईमै इंग्ल्यान्डले डेनमार्कविरुद्धको सेमिफाइनल खेल जित्दा भिडभाडको समस्या भएको भन्दै इंग्ल्यान्डलाई २५ हजार पाउण्ड जरिवाना गरिएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक २ मंगलबार
Comments