चीनबाट फर्किएलगत्तै मोर्चासँग सहमतिः प्रधानमन्त्री

भक्तपुर न्यूज

१० चैत २०७३ ५:५०

चीनबाट फर्किएलगत्तै मोर्चासँग सहमतिः प्रधानमन्त्री

काठमाडौं  १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चासँग सकेसम्म आजै र आज नभए आफू चीन भ्रमणबाट फर्किएलगत्तै सहमति हुने दाबी गरेका छन् । मोर्चाका नेताहरुसँगको छलफल सकारात्मक रहेको र सहमतिको विषय लगभग सार्बजनिक गर्ने चरणमा पुगिसकेको पनि उनले बताए ।

बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा समसामयीक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सिमांकनलाई थाती राखेर अन्य विषयमा मोर्चासँग सहमतिको प्रयास भइरहेको बताएको नेता टोपबहादुर रायमाझीले जानकारी दिए । ‘मोर्चासँग सकेसम्म आजै र आज नभ्याए चीनबाट फर्केर आएलगत्तै सहमति हुन्छ भन्नुभयो,’ नेता रायमाझीले अनलाइनखबरसँग भने ।

यस्तै प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावको तयारीमा जुट्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन पनि दिएका छन् । दलको बैठकमा प्रधानमन्त्री दाहालले माओवादी केन्द्रको पक्षमा निर्वाचनको वातावरण बन्दै गएको पनि बताए । ‘हिजो राजतन्त्र फाल्न खेलेको भूमिका, त्यसपछि गणतन्त्र घोषणा र संविधान निर्माणमा माओवादी केन्द्रले जुन भूमिका खेलेको थियो, त्यसको आधारमा स्थानीय तहको निर्वाचन हुँदैछ, अब समृद्ध नेपाल निर्माणको लागि पनि हाम्रो पार्टी जिम्मेवार भएर अगाडि बढ्नुपर्छ,’ बैठकमा प्रधानमन्त्रीको भनाइ उधृत गर्दै नेता रायमाझीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *