आयोगले प्रधानमन्त्रीलाई गरायो निर्वाचन तयारीबारे जानकारी
काठमाडौं, ४ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७ सय ४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराएका हुन् । स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते हुन गइरहेको छ ।
प्रधानमन्त्री दाहालसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराएका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताए ।
आफूले राजनीतिक सद्भाव र विश्वासको वातावरण पनि सिर्जना हुनुपर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जानकारी दिँदै उनले भने, वैशाख ३१ मा हुने महाअभियानमा सबैको सहभागिता होस् भन्ने निर्वाचन आयोगको चाहना हो ।
प्रमुख आयुक्त यादवले तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दैे विद्यमान अवस्थामा देखिएको असमझदारी सुल्झाउने समय अझै बाँकी छ, मिलेर अगाडि बढ्नुपर्दछ भने ।
संसद्मा भएका राजनीतिक दल तथा नभएका दल सबै निर्वाचनमा भाग लिन चाहेका छन्, त्यसका लागि सहकार्य गरेर अगाडि जानुपर्ने उनले बताए । निर्वाचनको अपनत्व सबै नेपाली जनता र राजनीतिक दलले लिनुपर्छ भन्ने आयोगको धारणा छ ।
आयोगको धारणा सुनिसकेपछि प्रधानमन्त्री दाहालले आफूहरुलाई विश्वस्त पारेको बताउँदै प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीले सद्भावको विश्वसनीय वातावरण बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रीत हुने बताएको जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचनका लागि कर्मचारी खटाउने र जिल्लामा निर्वाचन सामग्री पठाउने कार्य भइराखेको तथा मतपत्र छापिरहेको जानकारी दिँदै उनले तराई तथा अन्य जिल्लामा हुन सक्ने कठिनाइलाई कमी गर्दै लगिने बताए ।