काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा गोलको वर्षा भएको खेलमा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ । बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई ६–३ गोल अन्तरले हरायो ।
ज्याक ग्रिलिसले सिटीबाट च्याम्पियन्स लिगमा डेब्यु गरेको खेलमा उत्कृष्ट गोल गरे । सिटीले बुन्डेसलिगको उपविजेता लाइपजिगमाथि उत्कृष्ट आक्रमक खेल पस्किएको थियो । सिटीले समूह एमा जित सहित च्याम्पियन्स लिगको यस सिजनको सुरुवात गरेको छ । सिटीले गत सिजन फाइनलमा चेल्सीसंग नमिठो हार ब्यहोरेको थियो ।
कीर्तिमानी मुल्य सहित सिटी आएका ग्रिलिसले इतिहादमा सिटीलाई ४-२ गोल अन्तरले अघि बढाउन गोल गरेका थिए । नाथन एकेको हेड गोलमा सिटीले खेलमा अग्रता बनाएको थियो । नोर्डी मुकीको आत्मघाति गोल गर्दा सिटीले अग्रता दोब्बर बनायो ।
क्रिस्टिोफर नकुन्कुले गोल गर्दै पाहुना टोली लाइपजिगलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३-१ ले अघि बढाएका थिए ।
नकुन्कुले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्याएका थिए । तर ग्रिलिसको गोलमा सिटी ४–२ ले अघि बढेको थियो । ७३ औं मिनेटमा नकुन्कुले ह्याट्रिक पुरा गर्दै खेललाई ४-३ को रोमाञ्चक अवस्थामा पुर्याएका थिए । तर जोआओ क्यान्सलो र वैकल्पिक खेलाडी ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई ६-३ को प्रभावशाली जित दिलाए ।
खेलको अन्तिम ११ मिनेट लाइपेजिगले १० खेलाडीमा सिमित रहेर खेलेको थियो । सिटीका पूर्व खेलाडी एन्जेलिनो ७९ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।
समूह एमा सिटीले ३ अंक जोडेको छ । लाइपेजिग अंक विहिन छ । पीएसजी र क्लब ब्रुगले बराबरी खेल्दै समान १/१ अंक जोडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र ३१ बिहिबार
Comments