७४४ स्थानीय तह आजदेखि लागू

भक्तपुर न्यूज

३० फागुन २०७३ ५:५४

७४४ स्थानीय तह आजदेखि लागू

काठमाडौं ३० फागुन । सङ्घीय संरचना अनुसारका नयाँ ७४४ स्थानीय तह आजदेखि व्यावहारिक रूपमा कार्यान्वयनमा आउनेभएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत शुक्रबार ७४४ स्थानीय तह कार्यान्वयनको घोषणा गरे पनि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले आजदेखि मात्र सबै स्थानीय तह कार्यान्वयनमा आउनेभएका हुन् ।

सरकारले स्थानीय तह कार्यान्वयनमा समस्या आउन नदिन सक्रियता तीव्र पारेको छ । कर्मचारी सार्वजनिक बिदामा पनि काम गरेर स्थानीय तहबाट सेवा प्रवाह सहज गर्न लागिपरेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सात प्रदेशमा मन्त्रालयका सात सहसचिवको नेतृत्वमा स्थानीय तह कार्यान्वयनमा सहजीकरण समिति बनाई काम तीव्र बनाएको छ ।

सहसचिव नेतृत्वको समितिले साविकका ७५ जिल्लाकै स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई स्थानीय तह कार्यान्वयनमा समस्या आउन नदिने निर्देशनसहित आवश्यक सहजीकरण गरिरहेको मन्त्राल जनाएको छ । शनिबार र आइतबार स्थानीय तह पुनः संरचना आयोगले तोकिएका सबै केन्द्रमा गाउँपालिका वा नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका लेखिएको साइनबोर्ड राख्ने, कार्यालयको लेटर प्याड र छाप नयाँ बनाउने काम भइसकेको छ ।

साविकै संयुक्त वडा कार्यालयलाई केन्द्र तोकिएका स्थानमा सोही कार्यालयबाट कार्य सम्पादन गरिने र नयाँ स्थानमा केन्द्र तोकिएका स्थानमा घर भाडमा लिएर बोर्ड, छाप र लेटर प्याड नयाँ संरचना अनुसारको प्रयोग गरी कार्यान्वयनमा ल्याउने काम भइरहेको छ ।मन्त्रालयले स्थानीय तह पूर्णरूपमा कार्यान्वयन नआउँदासम्म कुनै पनि स्थानीय विकास अधिकारीलाई जिल्ला नछाड्न निर्देशन दिइसकेको छ । जिल्लामा स्थानीय विकास अधिकारीले जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायतका व्यक्तिसँग छलफल र समन्वय गरी स्थानीय तह कार्यान्वयनमा सहजीकरणको काम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *